Friday, March 10, 2017

भारतीय ज्यादती विरुद्ध एक भए सांसदहरू, लैनचौरले झुठ बोल्यो

‘गोविन्द गौतमलाई विशेष सहिद घोषणा गरौँ’
काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसका सांसद तारणीदत्त चटौतले भारतीय सुरक्षाकर्मी एसएसबीको गोली प्रहारबाट नेपाली नागरिकको मृत्यु भएको भन्दै घटनाको निन्दा गरेका छन् ।

संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद चटौतले चार वटा गोली प्रहार गरेर एसएसबीले नेपाली नागरिक गोविन्द गौतमको हत्या गरेको बताए । उनले भने, ‘चार वटा गोली चलेको छ । अस्पताल लैजाँदै गोविन्द गौतमको मृत्यु भएको ।’

‘भारतको एसएसबीले हतियारसहित नेपाल प्रवेश गरेर नेपाली नागरिकको हत्या गरेको छ । निन्दनीय छ । नेपाल सरकारले छानविन गरोस् । सामान्य परिवेशमा किन गोली चलाइयो ?’, उनले भने, ‘एसएसबीको गोली प्रहारबाट मारिएका गोविन्द गौतमलाई क्षतिपूर्ति दिलाइयोस् । कुटनीतिकमार्फत कुरा अगाडि बढाइयोस् ।’
एमालेका सांसद भीम रावलले कञ्चनपुर र सप्तरीको घटनाका विषयमा सरकार सरकारसँग जवाफ मागे । उनले भने, ‘कञ्चनपुरमा एसएसबी नेपाली सिमानाभित्र प्रवेश गरेर नेपाली भूमिमा आएर नेपाली नागरिकको गोली हानेर हत्या गरेको छ । सप्तरीमा शान्तिपूर्ण कार्यक्रममा अक्रमण भएको छ । यसको विषयमा सरकारले जवाफ दिनु पर्दैन ?’ एमाले नेता रावलले भने, ‘यो सरकारले कसको लागि काम गरिरहेको छ । एउटा दूतावासले विज्ञप्ति निकालेर हामीले गोली चलाएको होइन भन्छ । यस्तो पनि हुन्छ ?’

उनले एसएसबीको गोली प्रहारबाट हत्या गरिएका गोविन्द गौतमलाई ‘राष्ट्रिय योद्धा’ घोषणा गर्न सरकारसँग माग गरे । ‘सरकारको लम्पसारवादी नीतिले हामी अत्यन्तै दुखित हुनु परेको छ’, उनले भनिन् ।

माओवादी केन्द्रका सांसद अग्निप्रसाद सापकोटाले बारम्बार नेपालका राष्ट्रियता र अस्मितामाथि प्रहार भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले भने, ‘नेपालको राष्ट्रियतामाथि गम्भीर प्रहार भएको छ । भारतीय राजदूतावासले विज्ञप्ति जारी गरेर एसएसबीले गोली प्रहार गरेको होइन भनेर भन्छ । गुमराहमा राख्न खोजिन्छ । कञ्चनपुरको गोली प्रहारको घटना घामजस्तै छर्लङ भइसकेको छ ।’ माओवादी सांसद सापकोटाले एसएसबीको गोली प्रहारबाट निधन भएका गोविन्द सापकोटाका दोषीलाई कारबाहीको माग गरे ।

राप्रपाकी सांसद कुन्तीकुमारी शाहीले गोविन्द गौतमको हत्याका दोषीलाई कुटनीतिक रुपमा दबाब दिएर दोषीलाई कारबाही गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘सीमा मिचिएको र दिनदिनै भारतीय सुरक्षाकर्मीबाट सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरू अपमानित गर्नुपरेको छ । यसलाई तत्काल अन्त्य गर्नेतिर सरकारले ध्यान दिनुपर्छ ।’ उनले भारतीय राजदूतावासले विज्ञप्ति जारी गरेर एसएसबीको गोलीले नेपाली नागरिकको हत्या नभएको भनेर दिएको अभिव्यक्तिको आलोचना गरिन् ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मुख्य सचेतक योगेन्द्र चौधरीले भारतीय सुरक्षाकर्मी एसएसबीले नेपाली भूमिमा प्रवेश गरेर नेपाली नागरिकको हत्या गर्नु सामान्य कुरा नरहेको बताए । उनले घटनाको भत्र्सना गर्दै आपत्ति जनाए । उनले गोविन्द गौतमलाई विशेष शहीद घोषणा गर्न सरकारसँग माग गरे ।

संसदमा विशेष समय लिएर धारणा राख्ने सबै सांसदहरूले कञ्चनपुर घटनाको विरोध गर्दै भारतीय हस्तक्षेपको निन्दा एवम् भत्र्सना गरेका थिए ।
dainik nepal

Write Comment Below: