काठमाडौं, २९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले राप्रपा परित्याग गरेका छन् ।
रिपोर्टर्स क्लब नेपाल काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरेर लोहनीले आजैबाट पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
पार्टी एकतापछि चुनाव चिन्ह हलो राखिनुपर्ने अडान राख्दै लोहनीले पछिल्लो समय पार्टी नेतृत्व एकलौटी ढंगले चलेको, विधान नमानेको, निर्देशक समिति समेत गठन नगरेको आरोप लगाएका छन् ।
लोहनीले पार्टी अध्यक्ष कमल थापालाई पत्र लेख्दै आजका मितिबाट राप्रपाको कुनैपनि तहको सदस्य नरहेको जानकारी पत्रकार सम्मेलनमार्फत जनाएका छन् । आफूले २५ वर्षदेखि काम गरेको पार्टी छाड्नुपर्दा दुःख लागेको लोहनीले बताएका छन् ।
एकता महाधिवेशनपछि पार्टी विधानलाई उपेक्षा गरिएको र समझदारीलाई लत्याउने काम गरिएको आरोप लोहनीले लगाएका छन् ।
उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘पार्टीलाई एउटा व्यक्तिको वा एउटा सानो झुण्डको हतियारको रुपमा प्रयोग गर्न खोजियो, यस्तो अधिनायकबादी क्रियाकलापसँग मेरो पूर्ण असहमति छ ।’
-dainik nepal
-dainik nepal