Friday, March 10, 2017

बाल आवासगृहमा आगलागी : ३३ को मृत्यु, दर्जनौँ घाइते

सान जोसे पिनुला । अन्तर्राष्ट्रिय महिला दिवसकै दिन मध्यअमेरिकी राष्ट्र ग्वाटेमालाको एक बालबालिका पुनस्र्थापना केन्द्रमा बुधबार बिहान (नेपाली समयानुसार बुधबार राति) भीषण आगलागी हुँदा आगोले जलेर मृत्यु भएका बालबालिका र किशोरकिशोरीको सङ्ख्या ३३ पुगेको स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ ।

त्यस घटनामा घाइते भएका २१ बालबालिकाको अवस्था गम्भीर भएको पनि दैनिक समाचारपत्र प्रेन्सा लिब्रेले जानकारी दिएको छ । सो पुनस्र्थापना केन्द्र राजधानी ग्वाटेमाला सिटीदेखि टाढा एक ग्रामीण इलाकामा अवस्थित छ ।

अनाथ वा दुःख र पीडामा परेका, समाजिक दुरूपयोग, शोषण वा दुब्र्यसनका शिकार भएका, जोखिममा परेका, घर–परिबारबाट त्यागिएका, बाल सुधार केन्द्र (कारावास) को सजायँ भोगिसकी छुटेका तर जाने ठाउँ अन्यत्र कहीँ नपाएर अलपत्र परेका बाल–बालिका तथा किशोर–किशोरीहरूलाई पालन पोषण गरी आश्रयस्थल उपलब्ध गराउने प्रयोजनले राज्यद्वारा उक्त केन्द्र सञ्चालन भएको थियो ।
भर्जिन अफ द एज्जम्पसन सेफ होम नामक उक्त पुनस्र्थापना केन्द्रमा अटाई–नअटाई, क्षमताभन्दा बढी बालबालिकाहरूलाई भर्ना गरिएको थियो । वालिकाहरूको खण्ड (सेक्सन) पट्टि गत बुधबार बिहान ९ः०० बजे देखि शुरु भएको आगलागीले केही बेरमै भीषण रूप धारण गरी फैलिएकोले धन,जनको यति ठूलो नोक्सान गरेको जनाइएको छ ।

उक्त पुनस्र्थापना केन्द्रमा अटाइ नअटाई वाल–वालिकाहरू कोचिएका मुख्य कारणले गर्दा त्यहाँ वाल–दुरूपयोग र यौनजन्य बदमासी हुने गरेकाले विगतमा बारम्बार धेरै शिकायतहरू आउने गरेका ग्वाटेमालाको समाज कल्याण एजेन्सीका प्रमुख कार्लोस रोडासले बताए ।

केन्द्रबाट उम्कने प्रयासमा लागेका केही किशोर किशोरीहरू र केन्द्र प्रशासनबीच अघिल्लो दिन अर्थात् मङ्गलबार दिउँसो देखिनै आपसमा लडाइँ झगडा शुरु भएको थियो । आपसी झै–झगडाकै परिणामस्वरूप केही उरण्ठ्यौला किशोर किशोरीहरूले वालिकाहरूको खण्डपट्टि सिरक, डस्ना तथा बिछ्यौनामा आगो सल्काई दिएका र समयमै नियन्त्रण गर्न नसक्नाका कारण आगोको लप्काले पूरै भवनलाई नै आंशिक भस्म पारेको अनुमान गरिएको छ ।

आगलागीमा परी घाइते भएका, १३ देखि १७ बर्षबीचका ४१ जना किशोरीहरूलाई स्थानीय रुजभेल्ट अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा लेराई पु¥याउँदा नै तीमध्ये धेरैजसोको शरीरका कम्तीमा पचास प्रतिशत भाग जलेर (सेकेण्ड एण्ड थर्ड डिग्री बर्न) सख्त घाइते अवस्थामा रहेका थिए ।

आगलागीको घटनामा घाइते भएका २१ बालबालिकाको अवस्था अत्यन्त गम्भीर र चिन्ताजनक समेत भएको सो अस्पतालका निर्देशक डा. कार्लोस सोटोको भनाइ उधृत गरी स्थानीय दैनिक समाचारपत्र प्रेन्सा लिब्रेले जानकारी दिएको छ ।

उक्त पुनस्र्थापना केन्द्रले थेग्न सक्ने बाल–बालिकाहरूको आधिकारिक क्षमतासङ्ख्या पाँचसय जनाको भए ता पनि केन्द्रमा कम्तीमा आठसय वाल–वालिका कोचिएका थिए । १८ बर्ष उमेर पुगिसकेका बयस्कहरूलाई केन्द्रबाट अन्तै सार्ने वा छु िदिइसक्नु पर्नेमा सो नगरी त्यहीँ नै राखिएका कारण त्यहाँ यस्ता बयस्कहरूले कम उमेरका किशोर किशोरीहरूलाई सताउने वा अबैध यौनिक क्रियाकलापमा संलग्न हुने गरेको समेत बताइन्छ ।

यस्ता बिषय पट्टि ध्यान पु¥याई यसको नियन्त्रण, रोकथाम र सुधारमा लाग्नु पर्ने स्थानीय र संघीय सरकार भने तिनै किशोर किशोरीहरूलाई दोषारोपण गर्न पट्टि लागेका छन् । संघीय सरकारले एक विज्ञप्ति नै प्रकाशन गरी अपराधिक प्रबृत्तिका केही बदमाश नवयुवकहरूले पुनस्र्थापना केन्द्रका निर्देशकको कार्यालयमा आगजनी गरेको भन्दै टाउको जोगाउन खोजेको छ ।

तर, ग्वाटेमालाका महान्याधिवक्ता अन्नाबेला मर्फिनले आगलागी काण्डको छानबीन गर्नुका साथै क–कसको लापरबाहीबाट बयस्कहरूलाई केन्द्रमै राखिएको हो सो पनि अनुसन्धान गरिने बताएका छन् ।

देशमा यत्रो ठूलो शोक परेका कारण ग्वाटेमालाका राष्ट्रपति जिम्मि मोरालले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने पूर्वनिर्धारित कार्यक्रमलाई रद्द गरी सो समारोह मनाउन उपस्थित सबै सहभागीहरू सँगसँगै एक मिनेट मौन धारण गरी मृतक किशोरीहरूप्रति श्रद्धान्जलि ब्यक्त गर्नु भएको थियो ।

साथै, देशब्यापी रूपमा आशौच र शोक मनाउन तीन दिनसम्म बिदा दिने पनि राष्ट्रपतिको कार्यालयले घोषणा गरेको छ । रासस
News24 TV

Write Comment Below: