Monday, March 13, 2017

चैत्र २ गते देखि सेना परिचालन हुने

काठमाडौ, ३० फागुन । मतपत्र छपाईको लागि चैत २ गते बुधबार बाट नेपाली सेना परिचालन हुने भएको छ।

जनक शिक्षा सामग्रीको सेक्युरिटी प्रेसमा छपाई गर्न लागेको मतपत्रको सम्पुर्ण सुरक्षाको लागि नेपाली सेना केन्द्रमा बस्न लागेको हो। बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनको मतपत्र छपाई गर्ने कार्य नसकुन्जेल सेनाको टोली जनक शिक्षाको छापाखानामै बस्नेछ। स्रोतका अनुसार करिब डेढ सय सेना प्रेस परिसरमा खटिनेछन्।

मतपत्र छपाई र ढुवानी पुरा नहुन्जेलसम्म नेपाली सेना प्रेस भित्रै बस्ने भएको छ। छपाई अवधीभर अन्य कसैलाई पनि परिसर प्रवेशमा रोक लगाइने भएको छ।


निर्वाचन आयोगले २०६४ र २०७० सालमा उपलब्ध गराएको चार र जनक शिक्षा संग रहेको ३ वटा गरी सातवटा प्रेसमा करिब १ करोड ७० लाख हाराहारीमा मतपत्र छपाई गरिने भएको छ। नेपाली सेनाका सहप्रवक्ता महासेनानी रामनाथ ढुंगानाले निर्वाचनकार्यका लागि नेपाली सेना तयार रहेको र निर्वाचन आयोगले बोलाउनासाथ परिचालित हुने जानकारी दिए ।

स्रोतका अनुसार केन्द्रले मतपत्र छपाई गर्न करिब ४ सय टन कागज केन्द्रमा खसाली सकेको छ। निर्वाचन आयोगले शुक्रबार निर्वाचन चिन्ह, रङ लगायतका विषयमा फाइनल गरेपछि छपाई शुरु गर्ने तयारी गरेको छ। केन्द्रले करिब एक महिना १५ दिनभित्र मतपत्र छपाई गर्ने काम पुरा गर्ने गरी तयारी गरिरहेको छ।
केन्द्रले २४ सै घण्टा मेशिन संचालन गरी तोकिएकै समयमा मतपत्र छपाई पुरा गर्ने योजना अघि बढाएको छ।

केन्द्रले मतपत्र छपाई गर्न थालेपछि कक्षा ११ को प्रश्नपत्र छपाईमा समस्या हुने भएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तालिका परिर्वतन गरेको थियो । यसअघि बैशाख २४ गतेदेखि तोकिएको परीक्षा निर्वाचन र प्रश्नपत्र छपाइमा ढिलो हुने कारणले सारेको थियो।
YT Nepal

Write Comment Below: