Friday, March 10, 2017

कञ्चनपुरमा नेपाली मारिँदा नरेन्द्र मोदीसँग कुरा गर्न प्रचण्डलाई डर ?

समाचार टिप्पणी
मोदीले आफ्ना नागरिक मारिँदा १५ मिनेटमै फोन गरेका थिए तर हाम्रा प्रधानमन्त्रीले घटना घटेको १२ घण्टा बितिसक्दा पनि चासो देखाएका छैनन् । के प्रचण्डले मोदीसँग सिधै कुरा गर्न सक्दैनन् ?

गत वर्ष मधेस आन्दोलनका क्रममा वीरगञ्जमा ढुंगामुढा गरिरहेका एक भारतीयको नेपाली सुरक्षाकर्मीको गोली लागेर मृत्यु भयो । घटना घटेको १५ मिनेटमै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालिन नेपाली समकक्षी केपी शर्मा ओलीलाई फोन गरेर आफ्नो नागरिक कसरी मर्यो भन्दै चासो राखे । अर्थात घटनाबारे जानकारी लिए ।

ठीक अहिले भारतीय सुरक्षाकर्मीको हातबाट नेपाली नागरिक मारिएका छन् । तर, अहिले परिस्थति फरक छ । भारतीय नागरिक नेपाली भूमिमा आन्दोलनमा लाग्दा मारिएका थिए भने नेपाली नागरिक आफ्नो भूमिको रक्षा गर्दा आफ्नै भूमिमा विदेशी सेनाबाट मारिए ।
प्रचण्ड भारतीय बलमा सरकार टिकाउने दाउमा लागेका छन्, देउवालाई मुखैमा आइपुगेको प्रधानमन्त्री पद गुम्ने चिन्ता छ । यही डरले प्रचण्ड र देउवा तैं चुप, मैं चुप गरिरहेका छन् ।
बिहिबार बिहान कञ्चनपुरको पुनर्वासमा स्थानीय गोविन्द गौतम भारतीय हस्तक्षेपविरुद्ध उत्रिँदा एसएसबीका जवानको गोली लागेर मारिए । उनी मारिएपछि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्म भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुरा गर्न सकेका छैनन् । मोदीले आफ्ना नागरिक मारिँदा १५ मिनेटमै फोन गरेका थिए तर, हाम्रा प्रधानमन्त्रीले घटना घटेको १२ घण्टा बितिसक्दा पनि चासो देखाएका छैनन् । के नेपालका प्रधानमन्त्री भारतीय समकक्षीसँग सिधै कुरा गर्न सक्दैन् ? होइन् भने एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रका कार्यकारी प्रमुख सम्बन्धित देशका प्रधानमन्त्री सिधा कुरा किन गर्न सक्दैन् ? कञ्चनपुरमा भारतीय पक्षले ज्यादती गरिरहँदा सिंगो नेपाली जनता आक्रोशित भएका छन् । स्थानीय बासिन्दा, विभिन्न दलका नेता कार्यकर्ता त झनै आक्रोशित छन् । तर, यो देशमा सरकार नभएझैँ प्रचण्ड भने चुपचाप छन् ।

अझ सुदूरपश्चिमको भजन गाउने शेरबहादुर देउवाको त मौनव्रतमा छन् । उनको मौनता अर्थपूर्ण छ । प्रचण्ड भारतीय बलमा सरकार टिकाउने दाउमा लागेका छन्, देउवालाई मुखैमा आइपुगेको प्रधानमन्त्री पद गुम्ने चिन्ता छ । यही डरले प्रचण्ड र देउवा तैं चुप, मैं चुप गरिरहेका छन् ।

अझ प्रधानमन्त्रीले भारतीय दूतावासका कर्मचारीलाई पो फोन सम्पर्क गरेको कुरा पनि बाहिर आएको छ । जुन अत्यन्तै लज्जास्पद कुरा हो । समाचार स्रोतका अनुसार, प्रधानमन्त्री प्रचण्डले काठमाडौंस्थित निमित्त भारतीय राजदूत विनय कुमारलाई फोन गरेर घटनाबारे विस्तृत विवरण मागेका थिए। कुटनीतिक परम्पराअनुसार भारतीय राजदूत अथवा त्यसका कर्मचारीसँग परराष्ट्र मन्त्रालयका अधिकारी वा परराष्ट्रमन्त्रीले जानकारी लिनुपर्ने हो । परराष्ट्रमन्त्री स्वयमले बोलाएर भारतीय राजदूतसँग यस विषयमा स्पष्टीकरण लिन पनि सक्छन् । तर, देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले नै भारतको उपसचिव सरहको कर्मचारीलाई फोन गर्नु झनै हास्यास्पद देखिएको छ। प्रचण्डले आफ्नो हैसियत समेत बिर्सेका छन् ।
-Dainik Nepal

Write Comment Below: