एमालेको मेची महाकाली राष्ट्रिय अभियान सोमबार बिहान रुपन्देहीबाट कपिलवस्तु प्रवेश गरेको छ । बिहान बुटवल मण्डपबाट शुरु भएको एमालेको अभियान र्याली पूर्व-पश्चिम राजमार्गका विभिन्न बजार र चौराहामा स्वागत ग्रहण गर्दै रामापुरमा पुगेर सभामा परिणत भयो ।
एमालेको लावा लस्कर राजमार्गमा अघि बढ्दा सैनामैना, पर्रोहा, मुर्गिया लगायतका स्थानमा स्थानीय एमाले कार्यकर्ता र समर्थकले सूर्य चिन्ह अंकित झण्डा र राष्ट्रिय झण्डा फहराउँदै स्वागत गरेका थिए । सोमबार तराईमा होली पर्व परेकाले एमालेका अभियन्तालाई स्थानीयले अबीर दलेर अभियानसँगै होली मनाएका छन् ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल कुर्तासुरुवालमा र गम्छामा सजिएर अभियानमा सहभागी भएका छन् । त्यस्तै लालबाबु पण्डित र कृष्णगोपाल श्रेष्ठ पनि मधेसी पहिरनका साथ अभियानमा छन् ।
यसपटकको होली तराई मधेसका जनतासँगै मनाउने पार्टीको निर्णय अनुसार अभियान र होली एकैपटक मनाइएको एमाले सचिव योगेश भट्टराईले बताए ।
कपिलबस्तुको जितपुर र चन्द्रौटाको सभापछि दांगको लमहीमा अभियान पुग्ने कार्यक्रम छ । एमालेको अभियानलाई लक्षित गरेर मधेसी मोर्चाले कपिलवस्तु बन्द आह्वान गरेको छ ।
-onlinekhabar