चितवन, २८ फागुन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाएरै छाड्ने उद्घोष गरेका छन् ।
पार्टीले सञ्चालन गरेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत नारायणी नदी किनारमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मर्नुपरे मरौला, तर देश बनाएर छाड्ने बताए ।
‘यो देश एमालेले नै बनाउँछ, विकास पनि एमालेले नै गर्छ,’ हजारौंको संख्यामा उपस्थिती रहेको सभालाई सम्बोधन गर्दै उनले भने- ‘मर्नुपरे मरौला तर हाम्रौ पालामा देश बनाउँछौं ।’
‘हामीहरुले विभिन्न असुविधा भोग्यौं,’ अध्यक्ष ओलीले अगाडि भने– ‘तर हामी देश सुविधा सम्पन्न बनाएर सन्ततीलाई सुम्पिन चाहन्छौं । हामी इतिहासको सम्मान गर्छाै, भविष्य बनाउन अघि बढ्छौं ।’
विकास नै एमालेको प्रमुख एजेण्डा रहेको भन्दै उनले एमालेले नै पूर्वपश्चिम छुकछुके रेल चलाउने घोषणा गरे । ‘एमालेले पूर्वपश्चिम रेलमार्ग बनाउँछ । छुकछुके रेलपनि चलाउँछ । मध्यपहाडी लोकमार्ग बनाउँछ । विकास बाहेक अरु केही सोच्दैन्,’ उनले भने ।
अन्य पार्टीहरुले जनतालाई अल्मल्याएर राखेको, झुटा आश्वासन दिएर भ्रममा राखेको भन्दै ओलीले एमालेमा आउन आह्वान गरे । ‘एमालेको अभियानले अन्य पार्टीका कार्यकर्ता खुसी छन् तर नेता तर्सिएका छन्,’ उनले भने– ‘अरु पार्टीले अल्मलाएर राख्याछन्, एमालेमा आउनुस्, यो तपाईहरुको पार्टी हो ।’
नारायणी नदी किनारमा आयोजित जनसभामा करिब ५० हजारको सहभागिता रहेको जिल्ला इन्चार्ज कृष्ण खनालले जानकारी दिए ।
-dainik nepal