गौतमलाई सहिद घोषणा गरी सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेपनि नेपाली कांग्रेस जिल्ला शाखा कञ्चनपुर अन्तर्गत पुनर्वास नगरकमिटी सभापति यमप्रसाद पौडेलले राष्ट्रिय सम्मान दिन नहुने अडान राखेका हुन् ।
उनले भने– ‘गौतमको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्दा थप हिंसा भड्किन सक्छ । त्यसकारण स्थितीलाई सामान्य पार्न पनि त्यसो गर्नुहुँदैन् ।’
गत विहिबार भारतीय ज्यादतिविरुद्ध प्रतिकारमा उत्रिदा एसएसबीको गोली लागेर गौतमको निधन भएको थियो । उनको शवलाई सेती अञ्चल अस्पतालमा राखिएको छ ।
स्रोतका अनुसार कांग्रेसको अडानपछि स्थानीय नेताहरुले गौतमको शवलाई उतै (धनगढी) अन्त्येष्टि गर्ने तयारी गरेका छन् ।
राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्दा थप हिंसा भड्किने भन्दै स्थानीय नेताहरुले गौतमको शवलाई घर नल्याई कैलालीमै जलाउने तयारी गरेपछि स्थानीयहरु आक्रोशित भएका छन् । उनीहरुले राष्ट्रिय सम्मानका साथ नै अन्त्येष्टि हुनुपर्ने माग गर्दै सीमा क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।
हाल सीमा क्षेत्रमा ६ सयको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । हिजोको तुलनामा पुनर्वासको आनन्द बजारको स्थिती सामान्य बन्दै गएको छ ।
हेमन्त न्यौपाने/आनन्दबजारबाट
-Dainik Nepal