Saturday, March 11, 2017

सप्तरीमा शोकमय शवयात्रा- सरकारको समर्थन फिर्ता भइसक्यो, अब आन्दोलन घोषणा हुन्छः मोर्चा

२८ फागुन, सप्तरी । के बालबालिका, के वृद्ववृद्वा, के युवक, सबै उमेर समूहका मानिस भावविह्वल थिए । गाउँ-गाउँबाट आएका जिल्लाबासीहरु एकै ठाउँमा भेला भएका थिए । नजिकै बजिरहेको शोक धुनले मान्छेहरुकै वीचमा पनि सन्नाटा छाएको अनुभूति हुन्थ्यो । मानिसको संख्या धेरै भए पनि चहल-पहल केही थिएन ।


शनिबार दिउँसो सप्तरी सदरमुकाम राजविराजमा यस्तो दृश्य ५५ किलोमिटरसम्म देखा पर्‍यो । ५५ किलोमिटर शवयात्राको ठाउँ-ठाउँमा मानिसहरुको भीड र सबैको मलीन अनुहारले समग्र सप्तरी नै रोइरहेको आभाष गराएको थियो ।
राजविराजदेखि भारदह हुँदै सिराहाको लाहानसम्म गरीवदेखि धनीसम्म, हिन्दूदेखि मुस्लिमसम्म सबै सहभागी भए । सरकारी जागिरेदेखि गैरसरकारी जागिरे एवं बेरोजगार महिला पुरुषहरु भेला भए । उनीहरुले प्रहरीको गोलीबाट मृत्यु भएका पाँचजनाको अन्तिम विदाइ गरे ।
पाँचै जनाको शवयात्रा शुरु गर्दा राजविराजमा मानवसागर ओर्लिएको थियो । यस्ता कोही थिएनन्, जो भावविभोर नबनेका हुन् । बिहानैदेखि परेको पानीले यस्तो महसुस गरायो कि प्रकृति पनि रोइरहेकी छिन् ।

वर्षाको बेवास्ता गर्दै गाउँ-गाउँबाट जनता राजविराज आए । हजारौंको सहभागिता रह्यो शवयात्रामा ।
मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र अनिल झा लगायतले श्रद्वाञ्जली अर्पण गरेपछि सर्वसाधारणहरुले पनि पाँचजनाको पार्थिव शरीरमा फूल चढाए ।

बस, ट्रक, जीप, माइक्रोसहितका यातायात व्यवसायीहरुले स्वतःस्फूर्त रुपमा आ-आफ्ना सवारी साधन एकै ठाउँमा जम्मा पारे । त्यसपछि राजविराजबाट शुरु भएको शवयात्रा तोपा, हनुमाननगर, भारदह, पोर्ताहा, बरमझिया, कञ्चनपुर, महुली, रुपनी, कल्याणपुर, बिसनपुर, खरचुहिया, कडरबोना, कुसहा, कदमाहा हुँदै लहानसम्म पुग्यो ।
प्रत्येक ठाउँमा हजारौं जनता सहभागी भए । उनीहरु सबैले पाँच जनालाई अन्तिम विदाइ गर्दै फूल चढाए । कतिपय ठाउँमा त सडकमा नै फूल र अबिरले ‘जय मधेस’ लेखिएको थियो ।

मृतक पाँचैजनाको आत्माको शान्तिका लागि सप्तरीका जनताले प्रार्थना गरे ।

प्रहरीको गोली लागी मृत्यु भएका मलेठ गाविसका सञ्जन मेहता, वीरेन्द्र महतो, पिताम्बर मण्डलका साथै प्रसवनी गाविसका आनन्द साह र जमुनी मधेपुरा गाविसका इनरदेव यादवप्रति संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झा, राष्ट्रिय मधेस समाजवादी पार्टीका उपाध्यक्ष शेखर सिंह, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिबारी, सद्भावनाका उपाध्यक्षद्वय मृगेन्द्रकुमार सिंह यादव र नवलकिशोर साहले श्रद्धाञ्जली अर्पण गरे ।

त्यसैगरी संघीय समाजवादी फोरम नेपालका प्रदेश सचिव शम्भु झा, तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जयप्रकाश ठाकुरसहित मोर्चामा आवद्व सातवटै दलका जिल्ला अध्यक्षले सामूहिक रुपमा श्रद्वाञ्जली अर्पण गरे ।

जब पाँचैजनाको शव राजविराज नगरपालिका परिक्रमा गर्न थाल्यो । केही युवाहरुको आक्रोस देखियो बोलीमा । उनीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्व नाराबाजी गरे । पाँच जनाको हत्या गर्नेलाई कार्वाही गर, बीर समूत अमर रहून्’ जस्ता नारा पनि उनीहरुले लगाए ।

मोर्चाका नेताले भने- सरकारको समर्थन फिर्ता भइसक्यो, अब आन्दोलन घोषणा हुन्छ

अरु दिन हाँसेर उपस्थित हुने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुको अनुहार पुरै मलिन देखियो । मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र अनिल झासहितका नेताहरु चिन्तित मुद्रामा सप्तरी प्रवेश गरे । र, चिन्ताकै बीच आक्रोश पनि पोखे ।

सप्तरीको मलेठ गाविसमा गत फागुन २३ गते प्रहरीको गोली लागी मृत्यु भएका पाँचजनालाई श्रद्वाञ्जली व्यक्त गर्न शनिबार दिउँसो राजविराज आएका यी तीनै नेताले भने, “अब आन्दोलनको विकल्प छैन् ।”

श्रद्वाञ्जली व्यक्त गरेपछि पश्चात शवयात्रामा सहभागी हुन आ-आफ्नो गाडीमा बसेका नेताहरुले गाडीबाटै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सरकारलाई दिएको समर्थन फिर्ता भइसकेको बताए । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, “समर्थन फिर्ता भइसकेको छ, औपचारिकता दिन मात्रै बाँकी छ ।”

यादवले समर्थन फिर्ता भइसकेको भनेर बुझ्न सबैसँग आग्रह गरे । ‘अन्याय, अत्याचार र विभेदबिरुद्व आन्दोलन शुरु गर्ने बताउँदै उनले एक/दुई दिनमै आन्दोलन घोषणा गरिने बताए ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारलाई सात दिनको समय दिएको र त्यो समय बित्न दुई दिन बाँकी रहेको बताउँदै यो अवधिमा स्वतः समर्थन फिर्ता हुने बताए ।

महतोले समर्थन फिर्ता लिएपछि तत्कालै आन्दोलन शुरु गर्ने जानकारी दिए । उनले भने, “अब अन्याय, अत्याचार सहन्नौं ।”

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले सरकारलाई दिएको एक हप्ताको समय सकिनेबित्तिकै आन्दोलन प्रारम्भ हुने उद्घोष गरे । उनले अब हुने आन्दोलन शान्तिपूर्ण हुने बताए ।


Write Comment Below: