Friday, March 10, 2017

संसदमा फेरि मधेसी मोर्चाद्वारा ‘हंगामा’

काठमाडौं, २७ फागुन । संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता अशोक राईले सप्तरीमा मधेसी मोर्चाका कार्यकर्ताहरूलाई गोली प्रहार गरेर राज्यले हत्या गर्ने कार्य गरेको भन्दै अपात्ति जनाएका छन् ।

संसदको आजको बैठक शुरु हुनेवित्तिकै धारणा राख्दै राईले सप्तरी घटनाको निन्दा एवम् भत्र्सना गरेका हुन् । ‘राज्यले सप्तरीमा चार जनाको हत्या गरेको छ ।

सुरक्षा निकायले शान्ति सुरक्षा व्यवस्थापन गर्दा वा भीड नियन्त्रण गर्दा गोली चलाउँछ’, उनले भने, ‘सप्तरी घटनामा प्रहरीले घुँडाभन्दा माथि गोली प्रहार गरेर सामान्य नियम पनि प्रहरीले उल्लंघन गरेको छ । दोषीलाई कारबाही गर्नुपर्छ ।’
कञ्चनपुरमा के भएको हो ? जानकारी चाहियो ?

कञ्चनपुर जिल्लामा भारतीय सुरक्षा निकाय एसएसबीले गोली प्रहार गरेर नेपाली नागरिकको हत्या गरेको भन्दै नेता राईले सत्यतथ्य सदनलाई जानकारी गराउन माग गरे । उनले भने, ‘कञ्चनपुर घटनामा एसएसबीको गोली लागेर नेपाली नागरिकको हत्या भएको छ । तर, भारतीय दूतावासले एसएसबीको गोलीले नेपाली नागरिकको मृत्यु नभएको कुरा आएको छ । घटनाका विषयमा जानकारी गराउन माग गर्दछु ।’

संसदमा मधेसी मोर्चाद्वारा ‘हंगामा’

यसैबीच, मधेसी मोर्चाका सांसदहरूले संसदमा केही समय नारावाजी गरेर बाहिरिएका छन् । उनीहरूले सप्तरीमा चार जनाको हत्या भएको भन्दै संसदमा नारावाजी र संसद बहिष्कार गरेका हुन् ।

Write Comment Below: