Friday, March 10, 2017

नेपाल-भारतका सम्पूर्ण सीमा सिल गरी काँडेतार लगाउन युवा संघको माग

नेपाल-भारतका सम्पूर्ण सीमा सिल गरी काँडेतार लगाउन युवा संघको माग
कञ्चनपुर घटनालाई अन्तर्राष्ट्रियकरण गरौंः अध्यक्ष पहारी
हेटौंडा, २७ फागुन । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले कञ्चनपुर घटनामा मारिएका गोविन्द गौतमलाई सहिद घोषणा गर्न माग गरेका छन् ।

भारतीय सशस्त्र सीमा बल एसएसबीले पुनर्वास नगरपालिका ८ मा नेपाली नागरिक गोविन्द गौतमलाई नेपाली भुमिमा पसि हत्या गरेको विरोधमा युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीद्धारा आयोजित विशाल विरोध र्यालीपछिको सभालाई सम्बोधन गर्दै पहारीले गौतमलाई तुरुन्त सहिद घोषणा गर्न सरकारसँग माग गरे । मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनको माग छ ।

गोली हान्नेलाई जवानलाई कडा कारवाहीको माग


सभामा अध्यक्ष पहारीले नेपाली नागरिकमाथि गोली हान्ने र निर्देशन दिनेलाई कडा भन्दा कडा कारवाही हुनपर्ने माग गरे । उनले भने– ‘नेपालकै भुमिमा आएर नेपालीमाथि नै गोली हान्नु यो अन्तर्राष्ट्रिय कानून विपरितको कदम हो । तसर्थ गोली हान्ने र हान्न लगाउनेलाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ ।’


सीमा सिल गरेर काँडेतार लगाउन माग
अध्यक्ष पहारीले सन् १९५० लगायतका असमान सन्धीहरु खारेज गरी नेपाल भारतका सम्पूर्ण सीमानाहरु सील गरी काँडेतार लगाउन माग गरे । ‘भारतको हस्तक्षेप र अत्याचार धेरै भयो । नेपालीले भारतीय सुरक्षाकर्मीबाट धेरै दुःख पाए । अहिले ज्यान पनि गुमाए । अब सहनुहुँदैन् । सम्पूर्ण सीमाहरु सील गरी काँडेतार लगाउनुपर्छ । पासपोर्ट प्रणाली लगाउनुपर्छ ।’

उनले सीमा क्षेत्रमा दक्ष र एक्शन लिनसक्ने सुरक्षाबल तैनाथ गर्न पनि माग गरे । अध्यक्ष पहारीले घटनालाई अन्तर्राष्ट्रियकरण गर्दै भारतले गरेको अन्याय र अत्याचारविरुद्ध अन्तर्राष्ट्रिय अदालत हेगमा मुद्दा हाल्न सरकारसँग आग्रह पनि गरे ।

सभालाई अध्यक्ष पहारीसहित सचिव माधव वास्तोला, कोषाध्यक्ष हिदम लामाले सम्बोधन गरेका थिए । विरोध कार्यक्रम युवा संघ नेपाल मकवानपुर जिल्लाका अध्यक्ष सन्तोष चौलागाईको अध्यक्षता सम्पन्न भएको थियो ।


-dainik nepal

Write Comment Below: