Friday, March 10, 2017

कञ्चनपुर घटना संयुक्त राष्ट्रसंघ पुग्यो, महासचिवलाई जानकारी

काठमाडौं, २७ फागुन । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले कञ्चनपुरको पुनर्वास नगरपालिका– ८ मा भएको गोलीकाण्ड र गोविन्द गौतमको हत्याप्रति संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराएको छ ।

संगठनका अध्यक्ष नरेश भण्डारीसहितको प्रतिनिधि मण्डलले राष्ट्रसंघका महासचिवलाई सम्बोधन गर्दै नेपालमाथि भएको भारतीय हस्तक्षेपको श्रृखंलामा उक्त घटना थपिएको हुँदा सार्वभौम राष्ट्रको अस्तित्व रक्षाका लागि यस्ता प्रकारका हस्तक्षेपलाई अविलम्ब रोक्न भन्दै राष्ट्रसंघको नेपालस्थित कार्यालयमा पुगेर पत्रसहित ध्यानाकर्षण गराएका हुन् ।

यसअघि सो संगठनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरी भारतीय राजदूतावासमार्फत विरोध पत्र दिएको छ । सो संगठनको एक प्रतिनिधि मण्डलले लैनचौरस्थित भारतीय दूतावासमा पुगी विरोध पत्र दर्ज गराएको सो संगठनका केन्द्रीय सदस्य भरत शर्माले जानकारी दिएका छन् ।
संगठनको आकस्मिक बैठकले राष्ट्रसंघमार्फत घटनाको अन्तर्राष्ट्रियकरण तथा दूतावासमार्फत मोदीलाई विरोध पत्र बुझाउने निर्णय गरेको थियो ।
-dainik Nepal

Write Comment Below: