Thursday, March 9, 2017

एमालेले सरकारलाई भन्यो- भारतीय एसएसबी र हत्याविरुद्ध एक्शन लेउ

आफ्नो नागरिक मारिदा सरकार मूकदर्शक बन्योः ओली
काठमाडौं, २६ फागुन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कञ्चनपुर घटनामा भारतीय सुरक्षाकर्मी (एसएसबी) विरुद्ध आवश्यक कदम चाल्न सरकारसँग माग गरेको छ ।

विहिबार विहान एसएसबीको गोली लागेर कञ्चनपुरको पुनर्वासस्थित माछापुच्छ्रे टोलका गोविन्द गौतम मारिएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरको आनन्द बजारमा भारतीय पक्षले नेपालीको हत्या गरेको सन्दर्भमा सरकारले तत्कालै भारतीय पक्षसँग जवाफ माग्नुपर्ने बताएका हुन् ।

काठमाडौंमा बिहीबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार आफ्नो नागरिक मारिदा मूकदर्शक बनेको भन्दै आलोचना गरे ।

‘देशभक्तिको कुरा गर्ने, राष्ट्रिय स्वाभिमानको पक्षमा लड्नेहरुलाई खोक्रो राष्ट्रवादी भनेर होच्याउनेहरु आज सिमानामा नागरिक मारिदा प्रतिक्रियाविहीन बनेका छन्,’ ओलीले भने, ‘सरकारले तत्काल यसबारे आपत्ति जनाएर भारतीय पक्षको जवाफ माग्नुपर्छ ।’
भारतीय सुरक्षाकर्मीको दमनविरुद्ध आवश्यक कदम चाल्न आग्रह
यस्तै, एमाले नेता शंकर पोखरेलले हत्या र भारतीय सुरक्षाकर्मीको दमनविरुद्ध आवश्यक कदम चाल्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्– ‘राज्यले गर्नुपर्ने सीमा सुरक्षाको काममा जनता अघि सर्नुपर्ने वाध्यता कहिले अन्त्य हुने होला ? सप्तरीको तिलाठी पछि कञ्चनपुरका जनता नेपाली भूमिको रक्षाका लागि सीमा क्षेत्रमा ढाल बनेर उभिए । उक्त क्रममा भारतीय एसएसबीको गोली लागि साहदत प्राप्त गर्ने नेपाली नागरिक गोविन्द गौतमलाई सलाम । सरकार एसएसवी र हत्याका विरुद्धमा आवश्यक कदम अघि बढाउ ।’
Dainik Nepal

Write Comment Below: