काठमाडौं, २६ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले गृहमन्त्री विमलेन्द्र निधिको आर्थिक सहयोगमा मधेशी मोर्चाले सप्तरी घट्ना घटाएको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, ‘सप्तरी घट्नाका प्रमुख योजनाकार नै गृहमन्त्री निधि हुन्, त्यसैले उनले तत्काल राजिनामा दिनुपर्छ, यो मेरो पार्टीको पनि चाहना हो ।’ गृहमन्त्री निधिको अभिव्यक्ति र आर्थिक सहयोगका कारण सप्तरी घट्ना घटेको उनले पटक–पटक दोहोर्याए ।
उनले भने, ‘सप्तरी घट्ना अपरझट घटेको घट्ना होईन, गौर हत्याकाण्ड योजना अन्तर्गत भएको हो, जसरी गौरमा तत्कालिन एमाओवादी नेताहरुको सामूहिक हत्या गर्ने योजना भएको थियो, त्यसैगरि एमालेका नेताहरुको राजविराजमा हत्या गर्ने षड्यन्त्र भएको थियो ।’
उनले सप्तरी घट्ना गृहमन्त्री निधिको आर्थिक सहयोग र मधेशी मोर्चाको ग्रान्ड डिजाईनमा घटाईएको आरोप लगाए । उनले उक्त घट्नाको सम्पूर्ण जिम्मा मधेशी मोर्चाले लिनुपर्ने माँग गरे ।
नेता महासेठले सप्तरी घट्नामा मधेशी मोर्चाका कार्यकर्ताहरु नरहेको समेत जिकिर गरे । उनले भने, ‘विरोध गर्दापनि १२ जना भन्दा बढि स्कुले बच्चाहरुलाई अगाडि राखिएको छ, त्यसमा मोर्चाका कार्यकर्ताहरु कोही पनि छैनन् ।’ उनले नेपाल बाहिरबाट आएका अपराधिक समूहले यस्तो वितण्डा मच्चाईरहेको समेत आरोप लगाए । उनले थपे, ‘गौर हत्याकाण्डका योजनाकारले यस्तो गरिरहेका छन् ।’
उनले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुको घरमा राति सुतेको बेलामा ढुँगामुढा हान्ने काम एउटै समूहले गरिरहेको समेत आरोप लगाए । उनले थपे, ‘त्यही समूहले राजविराजमा पनि ढुँगा हान्छ अनि जनकपुरमा पनि पुग्छ ।’ उनले मधेशी मोर्चालाई बाह्य शक्तिको लहैलहैमा नलाग्न समेत आग्रह गरे ।
महासेठले भने, ‘मधेशी मोर्चाले सरकारसँग बार्गेनिङ् गर्न पाउँछ, तर विहान एउटा कुरा, राति अर्कै कुरा गर्ने कुरा बन्द गर्नुपर्छ, तपाईहरुको मुख्य कार्यालय तराईमा छ कि काठमाडौंमा छ, त्यो पनि हामीलाई थाहा छैन, तर देशको लागि गम्भिर बन्नुपर्छ ।’
उनले आफूहरुको मेची–महाकाली अभियान भोलिबाट पूनः सूरु हुने बताउँदै भने, ‘हाम्रो अभियान कसैलेपनि रोक्न सक्दैन्, ५ गते हाम्रो कन्चनपुरमा कार्यक्रम छ, त्यसपछि हामी सिराहाको गोलबजारहुँदै जनकपुर, बर्दिवाद, गौरमा कार्र्यक्रम गर्छौं ।’
उनले प्रधानमन्त्री प्रचण्डले चुनाव स्थगित् गर्ने कुरामा आफूहरुलाई कुनै शंका नभएको समेत स्पष्ट पारे । उनले भने, ‘मोर्चाले पनि चुनावमा भाग लिनुपर्छ, तर निर्वाचनको लागि संविधान संशोधन प्रस्तावमा एमाले सहमत हुनै सक्दैन् ।’ उनले संशोधन प्रस्ताव नै राष्ट्रघाती भएकोले आफूहरुले यसलाई समर्थन गर्न नसकेको जिकिर गरे ।
उनले स्थानीय तहको निर्वाचनको मिति तलमाथि गरेर प्रधानमन्त्री प्रचण्डको ईतिहास समेत समाप्त हुने ठोकुवा गरे । उनले भने, ‘प्रचण्डजी तपाई क्रान्तिकारी ईतिहास बोकेको नेता हो, तपाई अडानमा बस्नुहोस् ।’
-Dainik Nepal