निमित्त राजदूत विनय कुमारकै दबाबमा मधेसी मोर्चाले सरकारबाट समर्थन लिन नसकेको खुलासा भएको हो । नेकपा एमालेको मेची महाकाली–अभियान बिथोल्ने क्रममा फागुन २३ गते सप्तरीमा प्रहरीको गोली लागि ३ जनाको मृत्यु भएपछि सोही दिन साँझ काठमाडौँमा मधेशी मोर्चाको आकस्मिक बैठक बस्यो । हतारहतारमा बसेको बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गर्यो । तर, एकैछिनमा त्यो निर्णय फेर्दै विज्ञप्ति जारी गरियो । सरकारबाट समर्थन फिर्ता लिने निर्णय एकाएक ‘गायव’ पारियो ।
मोर्चाका प्रवक्ता मनिष सुमनले समेत समर्थन फिर्ता लिने निर्णय भएको र फागुन २४ गते औपचारिक रुपमा सरकार र संसदमा जानकारी गराउने निर्णय गरेको जानकारी संचारकर्मीलाई दिए । तर, एकछिनअगाडि सरकारबाट समर्थन लिएको मोर्चाले विज्ञप्तिमा त्यो कुरा उल्लेख नभएपछि सञ्चारकर्मी समेत आश्चर्यमा परे । हतार–हतार समाचार सच्याइयो । कारण– मधेशी मोर्चा आफ्नो निर्णयमा केही मिनेट पनि टिक्न सकेन् ।
नाम उल्लेख नगर्ने शर्तमा मोर्चाका एक जना नेताले दैनिक नेपालसँग भने- भारतीय दूतावासबाट निमित्त राजदूत विनय कुमारले फोन गरी तत्काल निर्णय सच्चाउन दबाब दिए । भोलि फेरि बसेर निर्णय गर्ने भनेर नेताहरु उठे । सोही बमोजिम मधेशी नेताहरुले ‘फेस सेभिङ’ गरे । सरकारबाट हटने निर्णय गरेको मोर्चाले शर्त राख्दै एकहप्ताको अल्टिमेटम दियो ।
मोर्चाले भारतले के भन्यो ?
घटनाको भोलिपल्ट मंगलबार बसेको मधेसी मोर्चासहितको संघीय गठबन्धनले सरकारबाट समर्थन फिर्ता लिएन, एक हप्ताको अल्टिमेटम मात्र दियो । त्यो शर्त थियो– ७ दिनभित्र संविधान संशोधन गर्नुपर्ने र निर्वाचन स्थगित गर्नुपर्ने । पहिला समर्थन फिर्ता लिएको, पछि निर्णय गायब पारिएको र भोलिपल्ट सरकारलाई ७ दिने अल्टिमेटम दिने गरी मधेसवादी दलको फरक फरक निर्णय आउनुका पछाडि भारत थियो ।किनकी अघिल्लो रात धेरै कुरा पाकिसकेको थियो ।सरकारबाट समर्थन फिर्ता लिएपछि ‘बाग्रेनिङ पावर’ घट्ने भएकाले तत्काल अन्य निर्णय गर्न भारतीय निमित्त राजदूतले सुझाव दिएको मोर्चाका एक नेताले बताए । भारतीय दूतावासले भने अनुसार गर्ने कि नगर्ने भन्नेमा पनि मोर्चाभित्र चर्को विवाद देखियो । संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव भारतीय प्रस्तावको विपक्षमा उभिए । यादवले असहमति जनाएपछि मोर्चाका प्रभावशाली नेता महन्थ ठाकुरको दबाबमा सरकारलाई देखावटी रुपमा ७ दिनको अन्टिमेटम दिइएको स्रोतको दाबी छ ।
भारतीय दूतावासको खेलले प्रचण्ड सरकार भीरको डिलैमा पुगेर पनि टिक्न त सफल भयो । तर, सप्तरी घटनापछि मधेशी मोर्चा र सरकारबीचको दूरी बढेको छ । वर्तमान गठबन्धन बनाउन निकै ठूलो मेहनत गरेको भारतले यसको विकल्पका विषयमा पनि प्रमुख पार्टीभित्र खेलिरहेको स्रोतको दाबी छ । भारतीय दूतावासका कर्मचारीहरु सरकार, मधेशी दल, काँग्रेस र एमालेका केही नेताहरुसँग दिनहुँजसो अनौपचारिक छलफल गरिरहेको स्रोतको दाबी छ ।
-Dainik Nepal
