राप्रपाका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री थापाले सोमबार बिहान ट्वीट गर्दै भनेका छन्, ‘दोहोर्याएर भन्छु, राप्रपाले संसदमा हाल बिचाराधीन विधेयकको पक्षमा मत दिँदैन । निर्णयार्थ पेश भए बिपक्षमा भोट हाल्छ । आफ्नो स्वार्थका लागि भ्रम नछरौँ ।’
उनले आफू सत्तामा रहेपनि राष्ट्रियहीत विपरित रहेको विधेयकको पक्षमा नजाने स्पष्ट अडान राखेका हुन् । उनको यो अडानले प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार झन् संकटमा देखिएको छ ।
विधेयक पारित भएन भने मधेसी मोर्चाले समर्थन फिर्ता लिएर दाहाल सरकारलाई झन् दबाबमा राख्ने चेतावनी दिइसकेको छ ।
प्रमुख विपक्षी दल एमालेले संविधान संशोधन विधेयकलाई पारित गराउन नदिने भन्दै अडान कायम राखिरहेका बेला सरकारका प्रभावशाली उपप्रधानमन्त्री थापाले विधेयकको विपक्षमा अभिव्यक्ति दिएका हुन् ।
उपप्रधान एवम् स्थानीय विकासमन्त्री थापाको यो अभिव्यक्तिले एमालेको अडानलाई भरपूर साथ मिल्नेछ । संविधान संशोधनको विधेयक अब कुनै हालतमा पनि पारित हुने छैन ।
संविधान संशोधन विधेयकलाई पारित गराउने सर्तमा थापालाई उपप्रधानमन्त्री बनाएको समाचार बाहिर आइरहेका बेला उनको यस्तो अडानले दाहाल सरकारलाई झन् समस्या उत्पन्न भएको छ ।
-dainik nepal
