यसमा पिता हिरण्यकश्यपु छोराप्रति क्रुद्ध भए । आगोबाट समेत नजल्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हद काखमा लिई दन्केको आगोमा पसेर प्रल्हादको बध गर्ने प्रयास गर्दा पनि प्रल्हाद जीवीतै रहेका थिए । दुष्ट स्वभावी होलिका जलेको र भक्त प्रल्हाद सकुशल रहेको खुशियालीमा आपसमा रंग खेलेर हर्षपूर्वक होली पर्व मनाउन थालिएको पौराणिक प्रसंग पाइन्छ । फागू पर्व वसन्त उत्सवको पनि पर्व भएकाले यस अवधिमा रति र कामदेवको पनि पूजा गरिन्छ । यस अवसरमा भगवान कृष्णले गोपिनीहरुसंग रास रचेर रमाएको प्रसंग पनि गाँसिएको पाइन्छ ।
फागुका अवसरमा पश्चिम नेपालको गण्डकीक्षेत्रमा फागुगीत गाई घरघरमा गएर नाचगान गर्ने र तिनलाई स्थानीयले स्वागत गर्दै रंग दलिदिने अनि दक्षिणाका साथै अन्नपात दिएर बिदा गर्ने चलन छ । यो वसन्ती रंग र रागको पर्व विश्व पर्यटकमाझ पनि लोकप्रिय हुँदै गएको छ । फागू वा होलीको अर्थ र यसको मर्यादा कायमै राखी यो पर्व मनाउँदै नेपाली संस्कृतिको माध्यमबाट नेपाल र नेपालीलाई विश्वमा चिनाउन सकिने पनि देखिन्छ ।
Watch Video: